नेपालीको औसत आयु बढ्यो

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १८:२९ मा प्रकाशित

काठमाडु, २३ वैशाख– नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तकमा उक्त तथ्य सार्वजनिक भएको हो ।

१० वर्षअघिको तुलनामा हाल नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको तथा औसत आयु बढेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलब २५ प्रतिशत जनसङ्ख्या वृद्धिदर भएको छ ।

प्रतिवेदनले नेपालमा एकल परिवार ६० दशमलव एक प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत देखाएको छ । बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बागमतीमा ५४ छ ।

प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले आइतबार विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गरे । चार सयभन्दा बढी जनसाङ्ख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीति निर्माता, अनुसन्धानकर्ता, सञ्चारकर्मी र आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us