३३ किलो सुन तस्करीमा जोगिए, गाडीभरि पैसा बोकेर हिंड्दा समातिए

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते २०:३८ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– प्रहरीले ९८ लाख श्रोत नखुलेको रकमसहित काठमाण्डुको दरबारमार्गबाट समातिएका मिलन विकलाई सार्वजनिक गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बा१३च ४८५८ नम्बरको कारमा कार्टुनभित्र ९८ लाख बोकेर हिंड्दै गरेका विकलाई पक्राउ गरेको हो । उनीसँगै रूपन्देही सियारी गाउँपालिका–७ का २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।

विक चीनबाट भएको ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त समेत रहेको कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । गत असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी गरेर ल्याइएको सुन दोलखाका विभिन्न स्थानबाट बरामद भएको थियो ।

३३ किलो सुन तस्करी भएको पुष्टि भए पनि दोलखा प्रहरीले ११ किलो ५ सय ३२ ग्राम मात्र बरामद गरेको थियो । १४ जनालाई पक्राउ गरेर मुद्धा चलाइएकामा हाल ९ जना पुर्पक्षका लागि थुनामा छन् ।

५ जना धरौटीमा रिहा भएका थिए । विकसहित गिरोहमा संलग्न १२ जना फरार थिए ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार विक लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us