
काठमाण्डु,३०भदौ– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरोधीहरुले उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको बताएका छन।
पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन।
उनले लामो संघर्षबाट प्राप्त उपलव्धिलाई कलिलो मै मार्न वा निमोठ्न केही तत्व सक्रिय भएको समेत आरोप लगाएका छन् ।
त्यसका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी रहेको प्रचण्डको भनाइ थियो ।
‘यो परिवर्तन सात दशक लामो संघर्षबाट प्राप्त भएको छ यो भरखरको बच्चा वा कलिलो जस्तो छ । यसका विरोधीले कलिलो मै यसलाई मार्न र निमोठ्न सकिन्छ कि भनेर लागेका छन्’ प्रचण्डले भने ।
उनले युवा विद्यार्थीले त्यस्ता शक्तिको दुस्साहसको प्रतिवाद गर्नुपर्ने बताए ।
‘युवा विद्यार्थीहरुले केही त्यस्ता अराजक तत्व जसले जनतामा भ्रम सिर्जना गर्न खोजेका छन्, हत्केलाले सूर्य छेक्न खोज्या जस्तो दुस्साहस गरेका छन्,’ प्रचण्डले भने,‘यस्ता तत्वहरुसँग सतर्क रहन र त्यसको प्रतिवाद गर्न विशेष अपिल गर्छु ।’