डुबेको डुङ्गाका चौसठ्ठी यात्रुको शव प्राप्त

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ७:४३ मा प्रकाशित

सोल, ८ वैशाख – दक्षिण कोरियाको समुद्रमा गत बुधबार भएको फेरी (ठूलो आकारको डुङ्गा) दुर्घटनामा हराइरहेका व्यक्तिहरु मध्ये ६४ को मृत्यु भएको पुष्टि भएको छ ।

सो घटनामा परेका यात्रुको खोजी कार्य जारी नै रहँदा त्यसमा परेका ६४ जनाको शव प्राप्त भएको बताइएको छ । अझै पनि सो दुर्घटनाका २३८ जना व्यक्ति बेपत्ता रहेका जनाइएको छ ।
बुधबार भएको सो दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको छ । सो दुर्घटनामा सोमबार बिहान थप आठ जनाको शव प्राप्त भएपछि मृतकको सङ्ख्या ६४ पुगेको हो ।

दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४७६ जना यात्रुका साथमा यात्रा गरिरहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको सो डुङ्गामा अधिकांश माध्यमिक विद्यालयका विद्यार्थी रहेका थिए ।

एक स्थानीय विद्यालयका विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने क्रममा सो डुङ्गा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा विद्यार्थी र शिक्षक गरी ३५२ जना र बाँकी अन्य यात्रु रहेका जनाइएको छ ।

त्यसमा डुबेकामध्ये कम्तीमा पनि १७९ जनालाई भने उतिबेलै उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामध्ये ७५ जना विद्यार्थी र शिक्षक रहेका पनि जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us