
काठमाण्डू, ११ असार– गृहमन्त्री रमेश लेखकले मनसुनजन्य सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सवारी सञ्चालनमा कडाइ गर्न सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बुधबार आयोजित सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी समीक्षा बैठकमा उनले मौसम पूर्वानुमानले भारी वर्षाको चेतावनी दिइसकेको अवस्थामा सवारीसाधन सञ्चालन भएको पाइएमा जिम्मेवार पदाधिकारीहरू सिधै कारबाहीको दायरामा आउने बताए ।
उनका अनुसार पूर्वसूचना दिइएपछि सवारीसाधन निषेध गरिएको अवस्थामा गाडी चलेको भेटिएमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी कसैलाई पनि उन्मुक्ति दिइने छैन । ‘कारण देखाउनुपर्ने अवस्था आउँदैन, नियम तोड्ने अधिकारीमाथि कारबाही हुन्छ’, मन्त्री लेखकले भने ।
एम्बुलेन्स, शव बाहनजस्ता अत्यावश्यकबहाकेक सवारी साधन राजनीतिक दबाब वा निजी सिफारिसका आधारमा सञ्चालन गरिएमा त्यसलाई गम्भीर उल्लंघन मानिने उनले चेतावनी दिए ।
मन्त्री लेखकले उक्त नीति तथा निर्देशन गृहसचिव र प्रहरी प्रमुखमार्फत देशभरका सुरक्षाकर्मी तथा प्रशासनिक तहमा तुरुन्तै लागू गर्न आग्रह गरे ।
मनसुनका कारण पहिरो, सडक अवरुद्ध, तथा सवारी दुर्घटनाजस्ता घटनाले आम नागरिकको जीवनमा प्रत्यक्ष असर गर्ने भएकाले यस वर्ष सजग र सक्रिय भइ काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘विपद्को समयमा सर्वसाधारणले सबैभन्दा पहिले सम्झने निकाय भनेकै सुरक्षा संस्था र स्थानीय प्रतिनिधि हुन्’, मन्त्री लेखकले भने, ‘त्यसैले सूचनाको प्रभावकारी प्रवाहका साथै सचेतना र जवाफदेहिता दुवै आवश्यक छन् ।’
उनले विपद्का समयमा जनताको ज्यान जोगाउन सक्रिय भूमिका खेलेका चालक वा सुरक्षाकर्मीलाई प्रोत्साहन गर्नुपर्ने धारणा समेत राखे । यस्तै, नियमको अवहेलनामा संलग्नहरूलाई कारबाही गरेर अनुशासन कायम राख्नुपर्नेमा जोड दिए ।