मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाण्डु टुडे २०८३ असार १६ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, १६ असार– डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको छ । डोल्पाको ठूली भेरी नगरपालिका–६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए ।

घाइते भएकामध्ये जुम्ला घर भई दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन ।

घाइते भएका अर्का त्रिपुरासुन्दरी–१ रल्ली गाउँका अन्दाजी २८ वर्षीय गोपाल नेपालीको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।

सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोट तर्फ जाँदै गरेको बा ५४ प ६६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us