काठमाण्डू, १६ असार– भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै संघिय राजधानी काठमाण्डू आइपुगेका छन ।
उनीहरू आजदेखि माइतीघरमा धर्ना दिने तयारी साथ सामल लिएर सरकारलाई घचघच्याउन राजधानी आइपुगेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूले बताएका छन ।
आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले सरकारको उपेक्षाविरुद्ध निर्णायक संघर्षमा उत्रिन बाध्य भएको बताएका थिए ।
आफ्ना पीडा बताउन पटक–पटक प्रधानमन्त्रीको सचिवालयमा अनुरोध गरे पनि समय नदिइएको उनीहरुले बताएका छन । सीमाको रक्षा गर्दै जीवन बिताएका धेरै सुस्तावासी अझै नागरिकताबाट वञ्चित छन् । सुस्ता–५ मा मात्र करिब १२० घरपरिवार अहिले पनि नागरिकताविहीन अवस्थामा रहेका छन् ।
अब्दुल गनी, दुखी यादवलगायत धेरै स्थानीय बासिन्दाले नेपाली भूमिको संरक्षणका लागि संघर्ष गरे पनि नागरिकता नपाउँदा शिक्षा, स्वास्थ्य, बैंकिङ, रोजगारी र अन्य आधारभूत सरकारी सेवाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।