
काठमाण्डू, ११ असार– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिमा उमेर हद लगाइनु उचित नहुने बताएका छन् ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उमेर हदलाई सिद्धान्तको विषय बनाउन जरुरी नरहेको बताए ।
विधान अधिवेशन नजिकिँदै गर्दा एमालेमा दुई कार्यकाल र उमेरको सीमाबारे विवाद चर्किएको छ । ज्ञवालीले माक्र्सवादले कतै पनि उमेर हद राख्नुपर्ने नभनेको जिकिर ज्ञवालीले गरे ।
ज्ञवालीले उमेर हद राख्दा भयंकर क्रान्तिकारी र राख्दा अक्रान्तिकारी नभइने तर्क गरे ।
‘उमेर हदलाई सिद्धान्तको विषय बनाउनु जरुरी छैन । यो सिद्धान्तको विषय होइन । मार्क्सवादले उमेर हद राख्नुपर्छ पनि भनेको छैन । राख्न हुन्न भनेको पनि छैन’, उनले भने, ‘राख्नुपर्छ भन्नेहरू भयंकर क्रान्तिकारी र राख्नुहुन्न भन्नेहरू अक्रान्तिकारी पनि होइन ।’ ज्ञवालीले उमेर हद राख्ने कि नराख्ने भन्ने कुराको निर्धारण तत्कालीन परिस्थितिमा निर्भर हुने बताए ।
७० वर्षे उमेर हद राख्ने आफूहरुको निर्णय गलत रहेको निस्कर्षसहित सचिवालय र केन्द्रीय कमिटीले यसअघि नै स्थगन गरिरहेकाले उमेर हदको बहस निरर्थक रहेको उनको भनाइ थियो । उमेर हदबारेको बहस विधान अधिवेशनले टुंगो लगाउने ज्ञवालीले उल्लेख गरे ।