अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छः मन्त्री बास्कोटा

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १७:४६ मा प्रकाशित

चितवन, ३१ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै बास्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै बास्कोटालेले आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए । सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उनले पेश गरिएका र पेश गर्न लागेका कानूनी कुरा स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तरराष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुरालाई हमेसा स्वागत गरिने बताए ।

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन। यो जनताद्वारा निर्वाचित सरकार हो ।’ संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए। उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ।’

शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै बास्कोटा प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै मन्त्री बास्कोटाले भने ,‘के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’ समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।

अधिकार पानामा लेखेर नहुने बताउँदै मन्त्री बास्कोटाले भने, ‘आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ। हामीले गर्न खोजेको त्यत्ति हो’, उनले थपे, ‘नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ।’ संविधानभन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उनले भने, ‘तपाईंले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ । त्यत्तिकै आरोप लगाउन पाइँदैन ।’

सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने बताए । क्लिन फिड लागू हुँदा रु छ –सात अर्ब जोगिने पनि बास्कोटाले बताए । कालो झण्डा लिएर हिँड्नेसँग नडराउने भन्दै बास्कोटाले भने, ‘प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनौं ।’ मन्त्री बाँस्कोटाले सरकारले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेको तर दिनुहुँदैन भन्नेको मोर्चाबन्दी बनेकामा असन्तोष व्यक्त गरे । कार्यक्रममा मन्त्री बास्कोटाले सरकार राष्ट्रको समृद्धिका लागि डिजिटल नेपाल अभियानमा लागिपरेको बताए ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले रत्ननगर नगरपालिकाका प्रमुख वनलाई टेलिफोन गरी सेवाको शुभारम्भ गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us