
काठमाण्डु, २९ चैत – आमनिर्वाचन जित्ने भन्दापनि दुई ठूला पार्टीलाई हराउने मुख्य उद्देश्यबाट अस्तित्वमा आएको र पहिलोपटक आमनिर्वाचनमा भाग लिइरहेको भारतको आम आदमी पार्टीले बुधबार आफ्नो घोषणापत्र जारी गर्दै राजनीतिमा वंशपरम्पराको अन्त्यका लागि आह्वान गरेको छ ।
उसको घोषणापत्र प्रायः यही विषयमा बढी लक्षित देखिन्छ । घोषणापत्रको मुख्य पृष्ठमा लेखिएको छ, राजनीतिमा वंश र त्यसका आधारमा सत्ता प्राप्तिको अधिकार सुनिश्चित हुनु प्रजातन्त्र होइन ।
यसै हप्तादेखि सुरु भएको भारतको आमनिर्वाचनमा विषेशगरी यो पार्टीको चर्चा बढी मात्रामा रहेको छ । नयाँ दिल्लीबाट समाचार विश्लेषणमा भनिएको छ – विगतमा काँग्रेस र भारतीय जनता पार्टीका घोषणापत्रहरू त जनताले देखेकै हुन्, यतिखेर यस पार्टीको त्यो दस्तावेजमा उनीहरूले विशेष चासो दिएका छन् ।
पछिल्लो हप्ता नयाँ दिल्लीमा यस दलबाहेक प्रमुख दुई दल भारतीय काँग्रेस र भारतीय जनता पार्टीले पनि आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । काँग्रेसले सबैभन्दा पहिला जारी गरेको थियो भने भारतीय जनता पार्टीले गत बिहीबार मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान राख्ने यी दुई दलपछि यतिखेर भारतीय जनताले भने नयाँ शक्तिका रूपमा उदाएको यस आम आदमीलाई पछ्याइरहेका छन् । उक्त दलले यसअघि नयाँ दिल्लीको विधानसभामा जस्तै यसपटक पनि जनलोकपाल विधेयक निर्माणको कुरालाई प्रमुख प्राथमिकतामा राखेको छ ।
सो दलले ‘पियनदेखि पीएमसम्म’ कारबाही गर्न मिल्नेगरी जनलोकपाल विधेयक पारित गरी त्यस बमोजिमको भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियाका लागि संस्था स्थापनाको माग गरेको छ ।
यस दलले खासगरी भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुनको निर्माण, यसका लागि जनलोकपाल विधेयक संसदबाट पास गर्नुपर्ने तथा सूचना हकको प्रयोगलाई भ्रष्टाचार नियन्त्रणको औजारका रूपमा देशव्यापी रूपमा प्रयोग गर्नुपर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
सबै सरकारी निकायमा जनताका गुनासा सुन्नका लागि गुनासोकक्षको स्थापना, सबै सरकारी सेवाहरूको प्रभावकारिताको मापनका लागि संयन्त्रको स्थापना र सरकारी कामको सरलीकरणका लागि जतिसक्दो धेरै सूचना प्रविधिको प्रयोगलाई अघि सारेको छ ।
स्वराज विधेयक ल्याई देशका स्थानीय निकायहरू जस्तो ग्रामसभा र मोहल्ला सभालाई वार्षिक बजेटको व्यवस्था गरेरै बलियो बनाउने विषयलाई अघि सारिएको छ । साथै सबैका लागि स्वास्थ्य र शिक्षाको उपलब्धता र धार्मिक निरपेक्षतालाई पनि यस पार्टीले जोड दिएको छ ।
भारतीय जनता पार्टीले हिन्दू राष्ट्रवादको विषयलाई पनि आफ्नो निर्वाचन घोषणापत्रको एक एजेन्डा बनाएको छ । यसलाई विश्लेषकहरूले भने पुरानै कार्यक्रम भनी खासै आकर्षक एजेन्डा दिन नसकेको भनी टिप्पणी गरेका छन् ।
विवादास्पद धार्मिक एजेन्डाका रूपमा रहेको राम मन्दिरको निर्माणलाई पनि सो दलले अघि सारेको छ । भारतीय जनता पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका नेता नरेन्द्र मोदीले घोषणा सार्वजनिक गर्न गत बुधबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सुशासन र विकासमा जोड दिए ।
भाजपाले वर्तमान सरकारलाई भारतीय इतिहासमै सबैभन्दा बढी भ्रष्ट सरकारको सङ्ज्ञा दिएको छ । त्यसैले भारतमा भ्रष्टाचार नियन्त्रणको विषयलाई उसले प्राथकिताका रूपमा घोषणापत्रमा लिएको छ । मुद्रास्फीति नियन्त्रण र महङ्गी नियन्त्रणलाई यसअघि देखि नै सो दलले आफ्नो चुनावी एजेन्डाका रूपमा लिएको हो ।
गत वर्षदिनयता भारतमा पटकपटक महङ्गीका विरुद्ध आन्दोलन गरेको सो दलले महङ्गी नियन्त्रणलाई पनि एक एजेन्डाका रूपमा घोषणापत्रमा राखेको छ । आफ्नो दलको नेतृत्वमा सरकार गठन भयो भने महङ्गी नियन्त्रणका लागि विशेष पहल सुरु गर्ने र गरिब एवम् विपन्न जनताका लागि सहुलियतको व्यवस्था गरिने सो दलको चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ ।
कृषि र पूर्वाधार विकासमा प्राथमिकता, खुला र पारदर्शी सरकारको निर्माण, आर्थिक पुनरुत्थानका साथै विगतका वर्षहरूमा भारतमा प्रत्यक्ष वैदेशिक लगानी हुन नसक्दा आर्थिक समस्या उत्पन्न भएको भन्दै वैदेशिक लगानीका लागि विशेष कार्यक्रम संचालन सो दलको घोषणापत्रमा उल्लेख गरिएको छ ।
अर्काे प्रमुख दल भारतीय काँग्रेसले भने धेरैजसो युवालक्षित कार्यक्रम अघि सारेको छ । सो दलले उपाध्यक्ष ४३ वर्षीय राहुल गान्धीलाई आगामी सरकारको नेतृत्वका रूपमा अघि सारेकाले पनि यस दलले युवालक्षित कार्यक्रममा जोड दिएको बताइन्छ ।
सो दलले युवा उद्यमशिलताको विकास, आगामी सरकारमा लाखौं युवालाई रोजगारीको व्यवस्था, युवावर्गलाई विज्ञान र सूचना प्रविधिको विकासमा लगावका साथै विभिन्न आर्थिक समृद्धिका कार्यक्रम अघि सारेको छ ।
सो दलका तर्फबाट आगामी सरकारको नेतृत्वका रूपमा अघि सारिएका उपाध्यक्ष गान्धीले सबैभन्दा पहिला पार्टीको घोषणापत्र सार्वजनिक गर्ने क्रममा गतहप्ता भने, अबको भारत नयाँ पुस्ताले नै हाँक्ने हो र नयाँकै नेतृत्वबाट मात्र आधुनिक भारत बन्नसक्छ ।
हालपनि भारतमा भारतीय काँग्रेस नेतृत्वकै सरकार छ । सोही दलको अगुवाइमा भारतमा दुई पूरै कार्यकाल अर्थात दश वर्षसम्म शासन भएको छ । तर प्रधानमन्त्री डा. मनमोहन सिंहको पछिल्लो पाँचवर्षे कार्यकाल भने निकै नै आलोचित र अलोकप्रिय बनेको छ ।
भारत बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछिको आजसम्मको ६७ वर्षमध्ये काँग्रेसले नै कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । यसअघि जवाहरलाल नेहरू, उहाँकी छोरी इन्दिरा गान्धी, उहाँका छोरा राजिव गान्धीले भारतमा प्रधानमन्त्रीका रूपमा शासन सञ्चालन गरिसकेका छन् । यतिखेर पनि गान्धी परिवारबाटै राहुललाई नेतृत्वका रूपमा अघि सारिएको छ ।
तर पनि सर्वेक्षणहरूले भने भाजपा नै ठूलो दलका रूपमा आउनसक्ने भनेका छन् । यद्यपि कसैले पनि भाजपाले स्पष्ट बहुमत हासिल गर्नसक्ने अवस्थामा भने नरहेको बताएका छन् । उता भारतीय काँग्रेसले पनि आफ्नो दलले बहुमत हासिल गर्ने निश्चित भएको बताउँदै आएको छ । उसले प्रचार गरिएजति भ्रष्टाचार देशमा नरहेको भन्दै आफ्नो दल त्यति अलोकप्रिय नरहेको स्पष्ट गरेको छ ।
गत हप्तादेखि भारतमा निर्वाचन सुरु भएको हो । आगामी मे १६ मा सबै परिणाम आइसक्ने छ । तर त्यतिन्जेल यी दुई दलमध्ये कसले के कति स्थान हात पार्न सक्छन् र आम आदमीले यी दुईमध्ये कसको जनाधारलाई कति भत्काउन सक्छ भन्ने बारेमा अहिले नै यसै भन्नसकिने अवस्था छैन ।
तरपनि विगतका वर्षहरूका तुलनामा यस वर्षको निर्वाचन बढी प्रतिस्पर्धात्मक छ र मतदाता र विश्लेषकहरूले पनि दलका घोषणापत्रमा ध्यान दिएको पाइएको छ । विगतका आश्वासन भन्दापनि वर्तमानका कार्यक्रम हेरेर पार्टी छान्ने क्रम मतदाताहरूमा पनि आएको पाइएको छ ।