
काठमाण्डु, २७ चैत – लोकसभाको निर्वाचन जारी रहेको भारतमा आज तेस्रो चरणमा मतदान भैरहेको छ ।
तेस्रो चरणमा आज १४ राज्य र केन्द्र शासित प्रदेशका ९१ सिटका लागि मतदान सुरु भएको छ ।
यसमा राष्ट्रिय राजधानी दिल्लीका सबै सात लोकसभा क्षेत्रका साथै हरियाणा, उत्तर प्रदेश, महाराष्ट्र र ओडिशाका १, मध्य प्रदेशका नौ, बिहारका ६, झारखण्डका चार र केरलाका सबै २० सिटका लागि मतदान सुरु भएको हो ।
यसका साथै छत्तीसगढ, जम्मु–कश्मिर चण्डीगढ, अण्डमान, लक्षद्वीप लगायत प्रान्तका एक–एक सिटका लागि मतदान भैरहेको छ ।
९१ सिटका लागि १ हजार ४ सय १८ उम्मेदवार चुनावी मैदानमा छन् भने ती क्षेत्रमा करिब ११ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
पाँच हप्तासम्म चल्ने लोकसभाको चुनावको नतिजा आगामी मे १६ तारिखमा सार्वजनिक हुने छ ।