काठमाण्डु, २ फागुन – गृह मन्त्रालय कसले लिने भन्ने विषयमा कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन ढिलाई भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले गृह मन्त्रालयमा आ–आफ्नो दावी नछाडेपछि सरकारले पूर्णता पाउन नसकेको हो ।
प्रधानमन्त्री सुशील कोइरालासँगै विना विभागीय मन्त्री रामशरण महतले मात्रै पद तथा गोपनीयताको सपथ खाएका छन् ।
यता प्रमुख सत्ता साझेदार नेकपा एमालेले भने आफूहरुलाई गृह मन्त्रालय दिने पूर्वसहमतिबाट काँग्रेस पछि हटेको आरोप लगाउँदै सपथ ग्रहण समारोह समेत बहिस्कार गरेको थियो ।
साथै एमालेले गृह मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरिसकेको छ भने काँग्रेसले बोलाएको छलफलमा समेत बस्न मानेको छैन ।
काँग्रेसमा अधिकांश नेताहरु गृह मन्त्रालय आफैं राख्नु पर्ने बताउँदै आएका छन् । पार्टी भित्रैको तिब्र दवावका कारण कोइरालाले एमालेले गृह दिने निर्णय गर्न सकेका छैनन् ।
पार्टी भित्र महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरु एमालेलाई गृह दिएर भएपनि सरकारलाई पूर्णता दिनु पर्ने पक्षमा रहेपनि अधिकांश त्यसको विपक्षमा रहेको स्रोतले बतायो ।
एमाले र काँग्रेसको विवाद लम्बिँदै जाँदा सत्ता गठबन्धन नै संकटमा परेको छ । कोइराला नेकपा एमाले सहित अन्य साना दलहरुको समर्थन प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।