काठमाण्डु, २५ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिय निर्वाचनका लागि डा. रामवरण यादव स्वयम्ले पहल गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राष्ट्रपति स्वयंले नयाँ निर्वाचनको पहल गर्नु गणतन्त्र र लोकतन्त्रको हितमा हुने बताएका हुन् ।
‘पहिलो निर्वाचित राष्ट्रपतिको कार्यकाल ६ वर्ष पुग्न लागेको र अन्तरिम संविधानले परिकल्पना नै नगरेको ‘अर्को’ संविधानसभाको निर्वाचन हुन पुगेको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यस्तो स्थितिमा कानुनी छिद्रहरु खोजेर दलहरुबीचमा विवाद चर्काउनुको सट्टा राष्ट्रपति स्वयमले नयाँ निर्वाचनको पहल गर्नु गणतन्त्र र लोकतन्त्रको हितमा हुन्छ कि ?’
लोकतन्त्रलाई कसरी संस्थागत गर्ने भन्नेमा सबैको ध्यान जानु पर्ने उनको भनाई छ ।
‘नेपाल जस्तो भर्खरै गणतन्त्रमा प्रवेश गरेको मुलुकमा राष्ट्रपति संस्थालाई कसरी मर्यादित बनाउने र लोकतन्त्रको संरक्षकको रुपमा स्थापित गर्ने भन्ने कुरामा सबैले ध्यान पुर्याउन जरुरी छ,’ भट्टराईले लेखेका छन् ।