काठमाण्डू, २० साउन– ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले आज (मंगलबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् । प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष समेत निकालेको छ ।