विप्लव नेतृत्वको नेकपाले भन्योः माओवादी केन्द्रसँग तत्काल एकता असम्भव

काठमाण्डु टुडे २०८२ साउन २० गते १३:०९ मा प्रकाशित

काठमाण्डू, २० साउन– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको घोषणा गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।

सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए ।

बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ ।

किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’ देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us