श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी चौकी पुगेकी युवती मृत भेटिइन्

काठमाण्डु टुडे २०८२ साउन २० गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २० साउन– कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत अवस्थामा फेला परेकी हुन् । सम्झनाको मृत्युलाई आफन्तले शंकास्पद भनेका छन् । माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

श्रीमान्ले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिएका छन । जाहेरीमा सम्झनालाई पवनले कुटपिट गरेर यातना दिने, अन्य लालछाना लगाएर मानसिक तनाव दिने, गरेको उल्लेख छ ।

पक्राउ परेका पवनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सअपमा म्यासेज पठाउँदै श्रीमान्ले आफूमाथि कुटपिट गरेको बताएको खुलेको छ । प्रहरीका अनुसार घटना भएको अघिल्लो दिन मात्रै सम्झना श्रीमान्ले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।

प्रहरीले उनका श्रीमान् पवनलाई बोलाएर सम्झाइबुझाइ गरेर कुटपिट नगर्ने सर्तमा छाडेको थियो । तर, भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् । पारिवारिक स्रोतका अनुसार सम्झना पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन् ।

दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us