काठमाण्डू,२० साउन– कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मंगलबार बिहान गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली लगायतलाई सहरी विकास मन्त्रालयस्थित आफ्नो कार्यकक्षमा भेला गराए ।
पछिल्लो केही दिनयता देशभर भइरहेको भारी र अति भारी वर्षा तथा त्यसले निम्त्याउन सक्ने विपद पूर्वतयारी गर्न निर्देशन दिने उद्देश्यसहित सिंहले सरोकारवालाको बैठक बोलाएका थिए ।
कार्यबाहक प्रधानमन्त्री सिंहले विपद तयारीबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको उनको सचिवायले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सिंहले खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिएको उनका सहयोगी युपी लामिछानेले बताए ।
तर, जनताको जिउधनसँग सम्बन्धित यति गम्भीर विषयमा छलफल हुँदा र कार्यबाहक प्रधानमन्त्रीले निर्देशन दिइरहँदा रक्षामन्त्री राई भने मस्त निन्द्रामा थिए । कार्यबाहक प्रधानमन्त्रीले निर्देशन दिने बेलामा राई घुरिरहेका थिए । यसअघि गत १४ साउनमा राष्ट्रियसभा बैठकमा पनि मन्त्री राई निदाएका थिए ।
प्रधानमन्त्री केपी ओलीसमेत सहभागी बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१ माथि छलफल भएको थियो । उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री राई र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी निदाएको तस्बिर भाइरल भएको थियो ।