काठमाण्डू, १९ साउन– प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।
ओली नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै आइतबार मध्यराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे ओलीलाई बिदाई गर्न विमानस्थ पुगेका थिए ।
साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा हुने सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका हैसियतमा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित विकासशील मुलुक सहभागी हुने सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुने एजेण्डा छ ।
परराष्ट्र मन्त्रालयले अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने बताएको छ ।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्यहरुसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, एमाले सांसद सूर्यबहादुर थापा, परराष्ट्रसचिव अमृतबहादुर राई र ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह लगायत छन् ।
प्रधानमन्त्री ओली आगामी २३ साउनको राति स्वदेश फर्कने कार्यतालिका छ ।