घूस काण्डका बिचौलिया लामा एमालेबाट निलम्बित, किन गरेन एमालेले निष्काशन ?

काठमाण्डु टुडे २०८२ साउन १८ गते २२:३४ मा प्रकाशित

काठमाण्डू, १८ साउन– निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घूस डिल गरेका बिचौलिया सुजन लामालाई एमालेले निलम्बन गरेको छ ।
लामा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य थिए । घूस डिल प्रकरणमा बिचौलियाको भूमिकामा देखिएकाले उनलाई निलम्बन गरिएको
एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । लामा, तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ता, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठसँग लामाले घूस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

सोही प्रकरणमा गुप्ताले मन्त्रीबाट राजीनामा दिए पनि अधिकारी भने अझै मन्त्री नै छन् । श्रेष्ठलाई हटाएर नाउपाले गंगाराम चौधरीलाई अध्यक्ष तोकेको छ । लामालाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बिन गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

दुईमन्त्री, सांसदसमेत रहेकी नाउपा अध्यक्ष श्रेष्ठ र लामाबीच पोखराको १ सय ३५ रोपनी लिची बगैँचा व्यक्तिका नाममा ल्याउन लेखदेन गर्नेबारे कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।

यस्तै एमालेले घूस प्रकरणमा मुछिएका पार्टीनिकट कर्मचारी के गिरीको पनि पार्टी सदस्यता निलम्बन गरेको छ । निलम्बनअघि लामालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

लामाले उक्त अडियो आफूहरुको संवाद नभई एआई प्रयोग गरी बनाइएको दाबी गरेका थिए । लामाको जवाफ चित्त नबुझेकाले निलम्बन गरिएको प्रदेश अध्यक्ष अध्यक्ष शर्माले बताए ।

उक्त प्रकरणमा दोषी देखिए लामालाई निस्काशन गर्ने गरी हालका लागि निलम्बन मात्र गरिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us