काठमाण्डू, १८ साउन– माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन् ।
उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना पूरा नहुने स्पष्ट पारे ।
उनले बैठकमा हुँदै नभएको छलफलहरू पनि सञ्चारमाध्यममा ठूलो शीर्षकमा छापिएको भन्दै बस्नेतले आश्चर्य प्रकट गरे ।
‘‘बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको त देख्छौं । मिटिङमा पनि कसले के भने कसले के भने भनेर अतिरञ्जित गरेका कुराहरू त देखिरहेका छौं । कतिपयले कामना त गरिरहेका छन् । तर त्यो पूरा हुँदैन । नभनेका कुराहरू ठूलो शीर्षकमा आए । पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा पनि रहेछ,’ उनले भने ।
उपमहासचिव बस्नेतले पार्टीलाई अहित हुने काम गरेकाहरूले आत्मालोचना गर्नुपर्ने बताए ।