चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य गणेश सुवेदीलाई आइएनएनएफद्वारा सम्मान

काठमाण्डु टुडे २०८२ साउन १८ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, १८ साउन– नेपाल सरकारद्वारा चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्ति पाएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले बधाई तथा शुभकामना प्रदान गरेको छ ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो। विगत २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय सुवेदीलाई गत शुक्रबार सूचना, संचार तथा प्रविधि मन्त्रालयले बोर्ड सदस्यमा नियुक्त गरेको थियो । कार्यक्रममा आइएनएनएफका तर्फबाट सुवेदीले नेपाली चलचित्रलाई थप सशक्त र विकसित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

आइएनएनएफका अध्यक्ष लव प्याकुरेलले अहिलेको नेपाली सिनेमाको औचित्यमाथि प्रश्न उठिरहेको सन्दर्भमा सुवेदीको नियुक्तिले उद्योगलाई नयाँ ऊर्जा दिने टिप्पणी गरे ।

नवनियुक्त सदस्य सुवेदीले व्यवस्थापिकाबाट ऐन निर्माण हुँदै गर्दा आमचलचित्रकर्मीलाई अटाउने स्पष्ट परिभाषा आवश्यक रहेको भन्दै यसको लागि चलचित्र विकास बोर्डले थप तदारुकता देखाउने बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष मानबहादुर थापा, लेखक भीष्म राज फुलारा, निर्माता मधु अधिकारी, प्राविधिक अच्युत बजगाईं, संगीतकार राजेन्द्र बजगाईंलगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us