शीतलनिवासमा राष्ट्रपतिसँग रिसाए ओली

काठमाण्डु टुडे २०८२ साउन १७ गते २१:११ मा प्रकाशित

काठमाण्डू, १७ साउन– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् ।

राष्ट्रपति भेट्न ओली शनिबार शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटका क्रममा ओलीले आइतबारबाट सुरु हुने आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी दिए ।

तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यस्तै ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गरेकामा राष्ट्रपतिसँग असन्तुष्टि जनाएको श्रोतले जनाएको छ ।

संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन–२०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि गत ८ साउनमा प्रतिनिधिसभामा फिर्ता पठाएका थिए ।

प्रधानमन्त्री र अर्का एक सदस्य मात्र उपस्थित भए पनि संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्नसक्ने प्रावधान राखेर सरकारले ल्याएको विधेयक संघीय संसदका दुवै सदनले पारित गरेपछि ३१ असारमा सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चारजना सदस्य उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us