सेकुवा सेन्टरमा किशोरीको चक्कु प्रहार गरी हत्या

काठमाण्डु टुडे २०८२ साउन १७ गते १४:५९ मा प्रकाशित

कैलाली, १७ साउन– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा किशोरीको हत्या भएको छ ।

राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजुवालको शनिबार चक्कु प्रहार गरी हत्या भएको हो । प्रहरीका अनुसार सेजुवाल बर्दगोरिया गाउँपालिका–३ की बासिन्दा हुन् ।

हत्यामा याचनासँगै काम गर्ने बर्दगोरिया–१ का ३३ निरज साउद संलग्न रहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए । साउदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल लगिएकामा उपचारका क्रममा ज्यान गएको हो ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । घटनाको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us