गाईघाट, १७ साउन- उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् ।
कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए ।
बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चौनपा–१ का वडा प्रतिनिधिहरुको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब सामाजिक सुरक्षा भक्ता र राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न पहल गरिएको प्रजिअ बताए ।
वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद् भएको प्रजिअ लुइँटेलले बताउनुभयो । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौनपा–१ का वडाध्यक्ष राईले जानकारी दिए ।