सिन्धुलीमा झरीका कारण ओत लाग्न बसेको रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

काठमाण्डु टुडे २०८२ साउन १६ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, १६ साउन– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन ।

मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोले रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३ः३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो । रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए ।

पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो । ओत लागिरहेका थिङ र गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us