काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा जवाफ फर्काएका छन ।
खनालले बोलेको साँचो भए पार्टीमा बस्ने कुनै ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको जवाफ दिए । ‘एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत्रकारहरूको प्रश्नमा नेपालले यस्तो बताएका हुन् ।
अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले ९हाँस्दै० भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।’
उनले थपे, ‘खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।’ खनालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।
इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले भनेका छन्, ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’