मुख्यमन्त्री पदबाट राजीनामा दिन बहादुरसिंहलाई देउवाको फेरि निर्देशन

काठमाण्डु टुडे २०८२ साउन १६ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन ।

बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई सभापति देउवाले बिहीबार बोलाएर राजीनामा दिन निर्देशन दिएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

लामा निकट एक प्रदेश सांसदले भने, ‘सभापतिसँग मुख्यमन्त्रीको हिजो कुराकानी भएको हो । सभापतिले राजीनामा गर्न निर्देशन दिनुभएको छ ।’ जवाफमा लामाले कांग्रेसका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताएका थिए ।

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल विताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नेताका लागि निर्वाचन भएको थियो । संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । कांग्रेसबाट बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

बागमतीमा कांग्रेसका शीर्ष तहका नेताहरुले समेत चासो देखाएर किचलो उत्पन्न गर्ने कार्य गरेको लामा पक्षका एक सांसदले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us