अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८२ साउन १६ गते १५:११ मा प्रकाशित

काठमाण्डू, १६ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनु पर्ने बताएका छन ।

आज (शुक्रबार) काठमाण्डूमा कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको पनि बताए ।

उनले सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेको उनले बताए । सञ्चारमन्त्री गुरुङले भने, ‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ ।’

सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास समेत दिलाएका छन ।

मन्त्री गुरुङले भने, ‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पुर्‍याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ, अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us