रोजगारी र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छः ऊर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८२ साउन १६ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, १६ साउन– उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन । आज (शुक्रबार) खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन ।

साथै उनले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि बताए । उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताए ।

मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने पनि बताए ।

उनले भने, ‘जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता हो ।

सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो ।’ ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us