प्रतिनिधि सभाको उपनिर्वाचनः आयोगद्धारा दल दर्ताको लागि आह्वान

काठमाण्डु टुडे २०८२ साउन १६ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, १६ साउन– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले आज (शुक्रबार) एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जानकारी गराएको छ ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us