चक्रे मिलन समूहको गाडीबाट २ वटा खुकुरी र रड बरामद

काठमाण्डु टुडे २०८२ साउन १६ गते १२:४० मा प्रकाशित

काठमाण्डू, १६ साउन– प्रहरीले विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ)को समूहबाट खुकुरी पनि बरामद गरेको छ ।

बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । एउटा गाडीबाट २ थान खुकुरी बरामद गरीएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।

उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीले जनाएको छ । गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो ।

त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us