काठमाण्डू, १५ साउन– प्रहरीले काठमाण्डू महानगरपालिका–२६ स्थित सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले उनको डेरा खानतलासी गरेर १०९ दशमलव २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो । आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी कुलदिप चन्दले जानकारी दिएका छन ।
उनले भने, ‘उनको साथबाट ६ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।’ आरोपीले आफ्नो डेराको बेडमुनी लुकाएर राखेको अवस्थामा लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।