काठमाण्डू, १५ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको बताएका छन । आज (बिहिबार) सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताएका हुन । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन ।
अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन ।’ उनले नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने पनि बताएका छन । उनले भने, ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ ।’