काठमाण्डू, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाण्डू आउन लागेका छन् ।
बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार काठमाण्डू आउन लागेका हुन् । दलको नेताका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदा लामाले १४ मतमात्रै ल्याएका थिए । प्रदेशमा कांग्रेसका ३७ सांसद भएकोमा एक मत बदर भएको थियो ।
आफु काठमाण्डू आउन लागेका लामाले जानकारी दिए । ‘म सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाण्डू आउँदैछु,’ लामाले भने ।
सभापति देउवाले बोलाएर आउन लाग्नुभएको हो भन्ने प्रश्नमा लामाले भने, ‘उहाँले बोलाउनु भएको छैन । म जानकारी गराउन आउन लागेको हुँ ।’ नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा कांग्रेस केन्द्रीय सदस्य हुन् ।