राप्रपाका निर्वाचित केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा

काठमाण्डु टुडे २०८२ साउन १५ गते १५:२८ मा प्रकाशित

काठमाण्डू, १५ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले राप्रपाको हालको सङ्गठनात्मक अवस्था, गुटगत स्वार्थ, पदको भागबन्डा र नेताहरूको मनपरी प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन ।

विगतमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीजस्ता नेताहरूसँग काम गरिसकेका कार्कीले पार्टीमा रहँदासम्म राष्ट्रप्रेम, मूल्य र सिद्धान्तका आधारमा काम गरेको बताएका छन ।

विज्ञप्तिमा उनले पार्टी नेतृत्वले विधि–विधानको पालना नगरी सङ्गठनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले ’प्राइभेट कम्पनी’ झैँ चलाएको आरोप लगाएका छन् ।

कार्कीले पार्टीभित्र चाकडी र चाप्लुसी प्रवृत्तिको बढोत्तरी भएको र इमानदार तथा जनाधार भएका कार्यकर्ताहरूलाई अपमानित गरिँदै आएको उल्लेख गरेका छन् ।

पार्टी अध्यक्षमाथि लक्षित गर्दै कार्कीले लेखेका छन्, ’आफूसँग विमति राख्ने, सुधारका सुझाव दिने, र अधिवेशनमा रातदिन मरेर सहयोग गर्ने त्यागी कार्यकर्तालाई नै छानी–छानी हटाउने काम भएको छ ।’

यस्तो प्रवृत्तिका कारण पार्टीभित्र सुधारको सम्भावना नभएको भन्दै उनले अबदेखि कुनै पनि दल वा गुटमा नलाग्ने र स्वतन्त्र नागरिकको रूपमा राष्ट्र र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us