काठमाण्डू, १५ साउन– सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । आज (बिहिबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।
मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले जानकारी दिएको छ । उनले भने, ‘मन्त्रिपरिषद् हेरफेरबारे आजको बैठकमा कुनै छलफल नै भएन, ‘आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा पनि थिएन ।
विधेयकबारे छलफल गर्नुपर्ने भएकाले नै महान्यायाधिवक्ता समेतलाई बोलाइएको हो ।’ बैठकमा प्ररधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।