काठमाण्डू, १५ साउन– सत्ता घटक दल एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई आग्रह गरेको छ ।
आगामी कात्तिक १७ गते हुने तय भएको उपनिर्वाचनका लागि एमालेले भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गरिसक्न आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवाररको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई भनेको एमाले केन्द्रीय कार्यालयका प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।
महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेद्वार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।
पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेद्वार सिफारिसका लागि जानकारी गराउनेछ । केन्द्रीय कार्यालय प्रमुख डा.अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ भित्र उम्मेद्वारको नाम पठाइसक्न भनिएको छ ।
मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा.अधिकारीले जानकारी दिएका छन । रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए ।
०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।