मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश

काठमाण्डु टुडे २०८२ साउन १४ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, १४ साउन– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) जिल्ला अदालत काठमाण्डूका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।

जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई साउन ४ मा पक्राउ गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

बुधबार थुनछेक बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेका हुन् । २०८१ जेठ ४ मा डेरामा आएर अहिराजले बलात्कार गरेको पीडित युवतीले दावी गरेकी थिइन् ।

अहिराजलाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेकी थिइन् । बलात्कार गरेपछि अहिराजले धम्की दिएको पीडितको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us