काठमाण्डू, १४ साउन– एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति आपत्ति व्यक्त गरेका छन ।
आज (बुधबार) नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता थापाले यस्तो बताएका हुन । उनले राजनीतिक विचार र अभिव्यक्तिमा लगाइने कुनै पनि प्रतिबन्ध लोकतान्त्रिक मूल्यको ठाडो उल्लङ्घन भएको पनि बताएका छन । थापाले भने, ‘नेकपा एमाले भनेको विचारलाई बन्देज लगाउने पार्टी होइन ।
हामीले मार्गदर्शक सिद्धान्तको रूपमा जबज अपनाएका छौँ भने विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ ।’ राजा रहिसकेका ज्ञानेन्द्र शाहलाई समेत नागरिकको हक खोस्न नमिल्ने बताउँदै थापाले भण्डारीजस्ता नेतृलाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश भएको बताएका छन ।
उनले भने, ‘कुनै पदमा पुगेपछि त्यसको अवधि हुन्छ त्यसपछि त्यो व्यक्ति आम नागरिक बन्ने हो, राजनीतिक विषयवस्तु अगाडी सार्दैमा कोही पनि डराउनु पर्दैन, न कसैमाथि कारबाही हुन्छ ।’ कार्यक्रममा प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले एमालेभित्र विद्या भण्डारीको सक्रियतामाथि उठेका प्रश्नहरू ‘भित्रभित्रै सल्किरहेको भुसको आगो’ भएको टिप्पणी गरेका थिए ।