काठमाण्डू, १४ साउन– कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले नेतृत्वको वर्तमान सरकार सहमति अनुसार अधि बढ्न नसकेको बताएका छन । सथै कांग्रेस नेता कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । नेता कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाएका छन । उनले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको तर्क गरे ।
उनले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत एक महिना बितिसक्दा पनि गठन हुन नसकेको पनि बताए । लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै उनले राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए ।
उनले भने, ‘नैतिकता बिनाको राजनीति हामीले गर्न थाल्यौँ भने राजनीति धरापमा पर्छ ।’ उनले संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना वरिष्ठ व्यक्तिहरू हुने व्यवस्था रहेको तर अध्यादेशमार्फत दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको प्रावधानलाई खतरनाक भएको बताए ।
उनले भने, ‘राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि उनले गम्भीर चासो व्यक्त गरे । डा. कोइरालाले हालै पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँगको भेटघाटलाई कुनै नयाँ कुरा नभएको जिकिर गरेर ।
उनले भने, ‘हामी राजनीति गर्दैछौं। म नेपाली कांग्रेसमा छु, कोही एमालेमा होला, कोही माओवादीमा होला, कोही अन्य दलमा होला। हामीहरूले भेट गरिरहनुपर्छ ।’ उनले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताए। संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने पनि बताए ।