बागमती कांग्रेस संसदीय दलको नेतामा फेरि बहादुर र इन्द्रको भिडन्त

काठमाण्डु टुडे २०८२ साउन १४ गते १२:१२ मा प्रकाशित

काठमाण्डू, १४ साउन– बागमती प्रदेश संसदीय दलको नेतामा फेरि मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशसभा सदस्य इन्द्र बानियाँबिच भिडन्त हुने भएको छ ।

मंगलबार हुन लागेको संसदीय दलको निर्वाचनका लागि लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका छन । लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहेका निर्वाचन मण्डलले जानकारी दिएको छ ।

यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान ११ बजे सम्पन्न भएको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिएका छन ।

अब उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।

मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् ।

लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएपछि बुधबार भोटिङ हुँदा उनले विश्वासको मत गुमाएका थिए । उनले १५ मत पाउँदा विपक्षमा २२ मत पसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us