काठमाण्डू, १४ साउन– रसुवास्थित भोटेकोशी नदीमा फेरि भिषण बाढी आएको छ ।
प्रमुख जिल्ला अधिकारी अुर्जन पौडेलले बुधबार बिहान करिब साढे ३ बजेको समायमा भोटेकोसीमा बाढी आएको हो । भोटेकोसीमा बाढी आएसँगै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले भनेको छ ।
बाढीले टिमुरेदेखि चीनसँगको व्यापारिक नाका रसुवागढीसम्मको सडक नदीले पूर्ण रुपमा बगाएको छ । यो समाचार तयार पार्दासम्म मानवीय क्षतिको विवरण भने आएको छैन । स्थानीयलाई घरबाहिरै राखिएको छ ।
बाढीले त्रिशूली जलविद्युत केन्द्रमा क्षति पु-याएको छ । यसैबीच नुवाकोट र धादिङका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।
सम्भावित खतरालाई मध्यनजर गर्दै तीनवटै जिल्लामा उद्धार सामग्रीसहित सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
यसअघि गत २४ असारमा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर फुटेर भोटेकोशीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो ।
बाढीले २० जनालाई बगाएकामा केहीको मात्र शव भेटिएको छ । यस्तै केरुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको सडक सम्बन्ध बिच्छेद भएको थियो ।