काठमाण्डू, १३ साउन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै माथिल्लो तहबाटै पार्टी फुटाउन खोजिँदैछ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत शर्माले आफूले एजेन्डा केन्द्रित बहसमार्फत पार्टी पुनर्गठन, सुदृढ र व्यवस्थित गर्ने उद्देश्यसहित बहस थालेको दाबी गर्दै विभाजन गर्न लागेको भन्ने आरोपको खण्डन गरेका छन् ।
गत साता राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले मनमोहन अधिकारीपछिका सबै कम्युनिष्ट प्रधानमन्त्रीले मुलुकको हितलाई भन्दा भ्रष्टाचारलाई प्राथमिकतामा राखेको टिप्पणी गरेका थिए । शर्माको उक्त भनाइप्रति प्रचण्डसहित संस्थापन पक्षधर माओवादी नेता कार्यकर्ताले आपत्ति जनाउँदै आएका छन् । प्रचण्डले शर्मातर्फ लक्षित गर्दै दलाल र प्रतिक्रियावादीहरूको उक्साहटमा पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भएको बताएपछि उनी थप आक्रोशित भएका हुन् ।
‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भनेर गरिएको प्रचारलाई यति बेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु’, शर्माले भनेका छन् ।
शर्माले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिमा भएको बहस र निर्णयअनुसार असारदेखि सुरू गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको सन्दर्भमा पार्टीमा एजेन्डा केन्द्रित बहस हुनुपर्ने बताए । काँग्रेस र एमालेसँग भिजिट भिसा प्रकरणमा गरिएको दुईबुँदे सहमतिपछि गिरेको पार्टीको साख पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहस गर्न उनले भनेका छन् ।
‘यतिबेला सिंगै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन। यसको समाधान संविधान संशोधन, अर्थतन्त्र पुनर्संरचना र पार्टी पुनर्गठन नै हो । अर्थतन्त्र पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्छ’, शर्माले लेखेका छन् ।
आफूले थालेको बसहले देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने जिकिर पनि उनले गरे ।
विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्यौल, सांगठनिक अराजकता, विधि विहिनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टी पुनर्गठन गर्ने शर्माले बताएका छन् ।