भूमिहीन दलित र सुकुमबासीलाई चुनावको औजार बनाउने काम बन्द गरौंः सोबिता गौतम

काठमाण्डु टुडे २०८२ साउन १३ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, १३ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भूमिहीन दलित र सुकुमबासीहरूलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने बताएकी छन । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन ।

उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गौतमले अहिलेकै तरिकाबाट भूमिसम्बन्धी विधेयक आउन नहुने बताइन् । रास्वपाकी सांसद गौतमले भनिन्, ‘अहिलेसम्म कतिपटक विभिन्न आयोग बनिसके, कति खर्च भइसक्यो । त्यसको रेकर्ड कहाँ छ रु को साँच्चै भूमिहीन सुकुमबासी हुन् भन्ने रेकर्ड राखेका छन् ।

यो तरिकाले भूमिसम्बन्धी विधेयक आउन हुँदैन,’ उनीहरूले भूमिसम्बन्धी समस्याबाट मुक्ति पाउनुपर्छ । उनीहरूलाई औजार बनाएर सधैंभरी चुनावमा भोट पाउने आशमा जग्गा दिन्छु भनेर प्रमिस गर्ने अनि यस्तै कानुन बनाएर फकाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्छ ।’ भूमिहीनहरूले जग्गा पाउनुपर्ने र सरकारले दिनैपर्ने बताउँदै उनले राज्यले त्यसका लागि लक्ष्य राख्नुपर्ने बताइन् ।

‘भूमिहीन दलित र भूमिहीन सुकुमबासीहरू जो सँग भूमि छैन, निरीह छ, राज्यले संरक्षण गर्नुपर्ने छ उनीहरू सबैलाई भूमि सरकारले दिनुपर्छ । तर, त्यसो भन्दैगर्दा राज्यको कुनै लक्ष्य हुन्छ होला नि । भूमिसम्बन्धी समस्या कहिले मुक्त हुन्छ भन्ने कुरा हो,’ सांसद गौतमको भनाइ छ । साथै, उनले गिरीबन्धु जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको स्पष्ट नमुना भएको टिप्पणी गरेकी छिन् ।

भूमिसम्बन्धी ऐनमा अहिलेसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणबद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको सांसद गौतमले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us