रास्वपाको हस्ताक्षर अभियानलक्षित ओलीको टिप्पणीः हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला

काठमाण्डु टुडे २०८२ साउन १३ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको बताएका छन । आज (मंगलबार) धनगढीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी समेत गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, उनले प्रश्न गरेका छन् ।

संगठित सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको पनि बताए । बरु आफूले नै लामिछानेलाई स्थापित गरेको उनको तर्क छ । ‘मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध ?’, उनले भने । लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति समेत प्रधानमन्त्री ओलीले कटाक्ष गरे ।

‘असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरुलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला ।’ रास्वपाले नागरिक, पेशाकर्मी, कलाकर्मी लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us