म मुख्यमन्त्री छाड्दिन, सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो होः बहादुरसिंह लामा

काठमाण्डु टुडे २०८२ साउन १३ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने तर्क गरेका छन ।

आज (मंगलबार) आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने घोषणा गरेका छन । उनले भने, ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन ।

मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’ उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।

उनले भने, ‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ ।

मैले त्यस्तो हेरेको थिइनँ, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us