काठमाण्डू, १३ साउन– प्रहरीले पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो । उनले ९ साउनको दिउँसो ४ बजेतिर काठमाण्डू महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।
उनको १ तोला २५।८ लालको सिक्री चोरी गरेर फरार भएका उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाण्डूबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।