काठमाण्डू, १३ साउन– एमाले महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटवार्ता भएको पोखरेल निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतको अनुसार विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा छलफल भएको थियो । महासचिव पोखरेललाई भेट्न विप्लव आइतबार बिहान नौ बजे शंकर पोखरेलको निवास पुगेका थिए ।
आफ्नो निवासमा विप्लवलाई स्वागत गर्दै पोखरेलले सुरुमै विप्लवको कृषि कर्मको प्रशंसा गरेका थिए । पोखरेलको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालले भने, ‘कमरेडको खेती प्रणालीले देशभर राम्रो सन्देश गएको छ ।
त्यसलाई किसान र व्यवसायसँग जोड्दै उत्पादन र नाफाबीच तालमेल मिलाउन सकियो भने झन् राम्रो होला ।’ जनतालाई श्रममा जोड्ने र नाफासँग सन्तुलन राखेर अघि बढे राम्रो परिणाम दिने पोखरेलको सुझाव थियो । पोखरेलले विप्लवको उत्पादन संकृतिलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए ।
विप्लवले पनि ‘दोस्रो पुस्ताको वैचारिक नेता र स्पष्ट वक्ता’ भन्दै पोखरेलको प्रशंसा गरेको नेता नेपालले बताए । लुम्बिनी प्रदेशका कम्युनिस्ट नेताद्वय पोखरेल–विप्लवबीचको भेटको चाँजोपाँजो नेकपा एमालेका अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनाल र नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसीले मिलाएका थिए । भेटमा उनीहरू पनि सहभागी थिए ।
केसीले भेटमा भएका छलफलका विषयबारे स्पष्ट बताएनन् । उनले भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको समस्या, सहकार्य र मोर्चाबारे छलफल भयो र यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने कुरा भयो ।’ तर बैठक स्रोत भन्छ, ‘प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच हुने भनिएको एकताको प्रगतिदेखि प्रचण्डको मतिसम्म छलफल भयो ।’
विप्लवले प्रचण्डले एकतामा चासो नदिएकोबारे पोखरेलसँग खुलेर कुराकानी गरेका थिए । ‘सुरुमा एकताको राम्रै कुरा भएको हो । मलाई महासचिव बनाउने पनि भन्नुहुन्थ्यो । तर अहिलेसम्मको अवस्था हेर्दा एकता गर्न उहाँले नै इच्छा नदेखाएको जस्तो बुझिन्छ,’ विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
त्यसपछि एमाले महासचिव पोखरेलले पनि प्रचण्डको बोली र व्यवहारले गर्दा विश्वास गर्न गाह्रो हुने अनुभव सुनाएका थिए । पोखरेलले समाजवादी मोर्चालाई पनि प्रचण्ड र माधव नेपालले आफ्नो स्वार्थ अनुकूल चलाउन खोजेको र सरकारमा पुगेपछि भुलेको उदाहरण दिएका थिए । त्यसमा विप्लव पनि सही थालेका थिए ।
विप्लवका अनुसार जुन उद्देश्यले प्रचण्डले समाजवादी मोर्चा गठनको पहल गरे, त्यसअनुसार गतिविधि नभएको बताएका थिए । ‘अहिले यो मोर्चा सक्रिय छैन, योबाट पनि केही होलाजस्तो लाग्दैन,’ विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।