काठमाण्डू, १३ साउन– नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन चितवनमा पुगेका छन ।
शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन पुगेका हुन ।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् । हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए ।
उनले अब केही प्राविधिक परीक्षण सरेकर लाइन जोडिने जानकारी दिएका छन । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा यहीँबाट विद्युत सप्लाई गरिने इन्चार्ज खनियाँले जानकारी दिए ।
यसो गर्दा भरतपुरबाट पूर्वी चितवन गएको लाइनको लोडलाई हट्नेछ । रत्ननगरको टाँडी र खैरहनी नगरपालिकाको चैनपुरमा रहेको सबस्टेशनलाई हर्दीबाट विद्युत सप्लाई दिएपछि भरतपुरको लाइनबाट सिधै देवनगर र जगतपुर जोडेर पश्चिम चितवन तथा माडीमा विद्युत आपूर्ति गरिने खनियाँले जानकारी दिए ।
अहिले देवनगरबाट टाँडी तथा पर्सामा विद्युत उपलब्ध हुँदै आएको छ । चितवनमा पछिल्लो समयमा गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ ।