काठमाण्डू, १२ साउन– नेपालमा मनसुनी वर्षा सक्रिय, अधिकांश भूभागमा पानी
मनसुन सक्रिय भएसँगै हाल देशभर वर्षा भइरहेको छ । मौसमविदाका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षात भएको हो ।
पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा वर्षा भएको छ । यद्यपि, मधेश र सुदूरपश्चिम प्रदेशका केही भागमा भने अपेक्षाकृत कम मात्रामा पानी परेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानमा नै सक्रिय छल । बंगालको खाडीबाट आउने नमीयुक्त वायुले नेपालको आन्तरिक भूभागसम्म पुगेर वर्षा गराइरहेको मौसमविद् डेभिड ढकालले बताए । उनका अनुसार मधेश र सुदूरपश्चिमका सीमित स्थानमा मात्र हल्का पानी परेको छ भने अन्य प्रदेशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ ।
विशेष गरी सुक्खा र खडेरीको सामना गरिरहेका मधेश प्रदेशका जिल्लाहरूले अझै पर्याप्त वर्षा भएको छैन । पछिल्लो १२ घण्टामा सप्तरीको रुपनीमा केही मात्रामा मध्यम वर्षा मापन गरिएको छ। बारा, पर्सा, रौटहता, सिरहा र सर्लाही लगायत जिल्लामा हल्का मात्र वर्षा भएको छ । मौसमविद्का अनुसार आउँदो केही दिनमा मधेशमा वर्षा सामान्यभन्दा केही बढ्न सक्छ ।
यसैबीच देशभर रहेका विभिन्न वर्षा मापन केन्द्रहरूमा रेकर्ड गरिएका तथ्यांक अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पुमा १२३.४ मिलिमिटर पानी परेको छ ।
काठमाण्डू उपत्यकामा पनि आइतबार रातिदेखि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोलामा ८५.४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै काठमाण्डूको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६ मिलिमिटर, सुन्दरीजलमा ३० मिलिमिटर, चन्द्रागिरिमा २३ मिलिमिटर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ मिलिमिटर वर्षात भएको छ ।
मौसमविद्हरूका अनुसार वर्षातको क्रम अझै केही दिन जारी रहनेछ ।